भारतसंग व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह

Ambassador Shankar Sharma

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको पदाधिकारी र कार्यसमितिले भारतका लागि नवनियुक्त राजदूत शंकर शर्मासंग भेटवार्ता गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा मंगलबार भएको भेटवार्तामा चेम्बरले नेपाल भारत व्यापार सजीकरण एवं नेपालमा लगानीका लागि नवनियुक्त राजदूत शर्मा समक्ष आग्रह गरेको हो । 
चेम्बरका अध्यक्ष अग्रवालले भारतसंग नेपालले स्वतन्त्र एवं खुला व्यापार नीति अंगिकार गरेपनि व्यवहारिक लाभ प्राप्त गर्न नसकेको बताउनुभयो । भारतबाट हुने आयातमा खासै समस्या नरहेपनि निर्यातका क्रममा भान्सारमा सहजीकरण हुन नसकेको अध्यक्ष अग्रवालको भनाई छ । पर्यटन आर्कषण र लगानी मार्फत भारतसंगको व्यापार घाटा न्यूनीकरण गर्न समेत नवनियुक्त राजदूत शर्मालाई चेम्बरले सुझाव दिएको छ । चेम्बरका अध्यक्ष अग्रवालले भारतसंगको बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि जलविद्युत तथा सेवा क्षेत्रमा भारतीय लगानी आर्कषित गर्नुपर्नेमा जोड दिनुभयो ।
व्यापार सहजीकरणका लागि रेलवे ट्रान्सपोर्टेसनमा सहजीकरण, भन्सारमा अन्तराष्ट्रियस्तरको क्वारेन्नि ल्याव राख्नका लागि पहल गर्न समेत अध्यक्ष अग्रवालले नवनियुक्त राजदूत शर्मासमक्ष आग्रह गर्नुभयो । उच्चस्तरीय क्वारेन्टिन ल्याव भन्सारमा नहुँदा भारतबाट आयता -निर्यात हुने वस्तुहरुको गुणस्तर मापन हुन नसकेको भन्दै अध्यक्ष अग्रवालले राजदूत शर्माको ध्यानकर्षण गराउनुभयो ।